२०८३ असार ७ गते आइतवार

किसानलाई आधा मूल्यमा आधुनिक कृषि उपकरण वितरण

दाङ, ७ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण र किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।

कृषि विकास शाखा तथा पशु सेवा शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कृषकहरूलाई च्याफकटर, दाना पिस्ने मिल तथा मल्चिङ प्लास्टिक वितरण गरिएको हो ।

वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पशु सेवा शाखामार्फत १८ जना किसानलाई च्याफकटर र ५ जना किसानलाई दाना पिस्ने मिल वितरण गरिएको छ। त्यसैगरी कृषि विकास शाखामार्फत ८३ जना किसानलाई २२० वटा मल्चिङ प्लास्टिक उपलब्ध गराइएको छ ।

कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन लागतमा कमी तथा व्यवसायिक पशुपालनको विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले स्थानीय सरकारले यसअघि हाते ट्याक्टर वितरण, सुत्केरी पशु सहायता किट, घरदैलोमै पुगेर रोगी पशुको उपचार सेवा लगायतका कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसकेको उल्लेख गर्दै आगामी वर्ष किसानमैत्री थप नवीन कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले स्थानीय सरकारको सहयोग केवल वस्तुगत अनुदानमा सीमित नभई प्राविधिक सेवा, बाली व्यवस्थापन, माटो परीक्षण, उत्पादन वृद्धि र पशु स्वास्थ्य सेवासमेत विस्तार गर्ने दिशामा केन्द्रित रहेको बताउनुभयो। सबै भूगोलमा एकैपटक पुग्न नसकिए पनि किसानको गोठ र खेतसम्म सेवा पुर्‍याउने प्रयास निरन्तर जारी रहेको उहाँको भनाइ थियो।

उहाँले आगामी वर्ष किसानको गोठमै पुगेर पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने, पुराना सफल कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमसमेत थप गर्ने योजना रहेको जानकारी दिनुभयो। पशु सेवा शाखाले उल्लेखनीय उपलब्धि हासिल गरे पनि कृषि शाखामा पर्याप्त जनशक्तिको अभावका कारण अझ धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

तुलसीपुर–१५, का किसान कृष्णप्रसाद आचार्यले प्राप्त कृषि सामग्रीले श्रम र समयको लागत घट्नुका साथै उत्पादन वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तुलसीपुर–११,का किसान नवराज रावतले पालिकाको अनुदान कार्यक्रमले व्यवसायिक खेती र पशुपालनमा ठूलो राहत मिलेको बताउनुभयो ।

कृषि समिति संयोजक लक्ष्मण चौधरीले वितरण गरिएका उपकरणले पशु आहार व्यवस्थापन, घाँस तथा दाना प्रशोधन, कृषि उत्पादन संरक्षण र आधुनिक खेती प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

पशु सेवा शाखा प्रमुख डा. मनोजकुमार ओलीले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित यस्ता अनुदानमुखी कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिइने बताउनुभयो ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस