२०८२ बैशाख ३० गते मङ्गलवार

जग्गा व्यवस्थापन गर्न नसक्दा माहुरी स्रोत केन्द्र अलपत्र

दाङ, १३ पुस । जग्गा व्यवस्थापन गर्न नसक्दा लुम्बिनी प्रदेश सरकारले स्थापना गर्ने भनेको माहुरी स्रोत केन्द्र अलपत्र परेको छ । स्रोत केन्द्र स्थापनाका लागि घोराही उपमहानगरपालिका–१३ कलमघारीमा जग्गासमेत छनोट गरिए पनि त्यसको व्यवस्थापन गर्न नसक्दा काम अगाडि बढ्न नसकेको नेपाल माहुरी पालक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रामहरि शर्माले बताउनुभयो ।

उहाँले कृषि निर्देशनालय बुटवलबाट जग्गा उपयुक्त भएन भन्ने कुरा आएपछि काम रोकिएको बताउनुभयो । उहाँले अन्यत्र जग्गा नभएको र झण्डै चार विगाह जग्गा चाहिने भएकोले पनि त्यही ठाउँमा स्रोत केन्द्र स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

स्रोत केन्द्र नहुँदा मौरी पालक किसानले निकै समस्या झेल्नु परिरहेको बताउँदै अनुसन्धानात्मक काम गर्न स्रोत केन्द्र जिल्लामा अपरिहार्य रहेको शर्माले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले हाल मौरीको क्षेत्रमा प्रविधि प्रचार प्रसारको मात्रै काम भएकोले स्रोत केन्द्रको अभाव खड्किरहेको बताउनुभयो । दाङमा मौरी व्यवसायी पाँच सय भन्दा बढी रहेका छन् । नेपाल मौरीपालक महासंघका अनुसार मौरीमै निर्भर रहेका पूर्ण व्यावसायिक मौरी पालकको संख्या एक सय ७५ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दाङको मौरी जोन कार्यक्रमले मौरी जोन क्षेत्र तोकिएको घोराही, तुलसीपुर र बंगलाचुलीमा मात्रै १२ हजार ७६ घार मौरी रहेको जानकारी दिएको छ । अहिले घोराही र तुलसीपुरमा मेलीफेरा र बंगलाचुलीमा सेरेना जातको मौरी पालन बढी भइरहेको छ । नयाँ युगबोध दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस