२०८१ मङ्सिर २३ गते आइतवार

हरेक नागरिकको पहुँचमा सूचना पुग्नुपर्छ : सभामुख घर्ती

दाङ, १ भदाै । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले नागरिकले सूचना  पाउने अधिकारकाे पूर्ण कार्यान्वयनमा सरकार प्रतिवद्द रहेको  बताउनुभएकाे छ ।

सञ्चारिका समुह नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको सूचनाको हकसम्बन्धी प्रशिक्षण शिविरको उद्घाटन गर्दै सभामुख घर्तीले सरकारले सकेसम्म  सूचना अड्कलेर दिन चाहेपनि नागरिकलाई सुसूचित गराउने कुरामा सरकार जिम्मेवार हुने बताउनुभयो ।

‘नागरिकलाई  सूचनाको हकको प्रत्याभूति गराउन सक्नुपर्छ,’ सभामुख घर्तीले भन्नुभयो ,‘तर  सूचना गोपनियताको सीमा कहिलेसम्म हो भन्ने कुरामा निर्भर पर्छ ?’

लोकतन्त्रमा सूचनाको हकमा हरेक नागरिकको पहुँच पुग्नुपर्ने उहाँको भनाइ छ ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई मौलिक हकका रुपमा परिभाषित गरेको भन्दै उहाँले  हरेक निकायले जनस्तरमा पुग्नेगरी सूचनाको हक प्रत्याभूत गराउनुपर्ने बताउनुभयो ।

अहिलेसम्म आम नागरिक सूचना माग्न नआएको भन्दै जनता र सरकालाई जोड्ने काम सञ्चार क्षेत्रले गर्ने गरेको उहाँको भनाइ छ । 

सरकार र संसदीय मूल्य मान्यता र मयार्दाको ख्याल गरी सूचनालाई सम्प्रेषण गर्न उहाँले पत्रकारलाई सुझाव दिनुभयाे ।

सञ्चारिका समुहकी केन्द्रीय कोषाध्यक्ष उर्वशी बस्न्यातको अध्यक्षतामा सूचनाको हक सम्बन्धी प्रशिक्षण शिविर भएको हो ।  

सञ्चारिका समूह नेपालको आयोजना तथा  द एशिया फाउण्डेसन नेपालको प्राविधिक सहयोग र सामुदायिक सारथीको सहकार्यमा शिविर भएको हो । 

दुई दिनसम्म चल्ने शिविरमा सूचनाको हक सम्बन्धी ऐन, व्यवस्था, यसको महत्व, कार्यान्वयनको अवस्थाका विषयमा प्रशिक्षण हुनेछ । तालिममा जिल्लामा क्रियाशील २० जना पत्रकारको सहभागिता रहेको छ । 

कार्यक्रमको सहजीकरण सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले गर्नुभएकाे हाे । भाेलिसम्म चल्ने तालिमको आज पहिलो दिन प्रशिक्षकमा ताराबहादुर भण्डारी  र जेपी विश्वकर्मा रहनुभएकाे थियोे ।

प्रकाशित मिति : २०८१ भाद्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस