२०८१ मङ्सिर २३ गते आइतवार

चामलको बोराभित्र लुकाएर लैजादै गरेको अफिमसहित ट्रक चालक पक्राउ

रुकुम पश्चिम, ८ साउन । साढे ५ केजी अफिमसहित ट्रक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कुमाख गाउँपालिका – ५ का ३२ बर्षीय मदनप्रकाश गिरी रहेको प्रहरीले जनाएको छ । उनलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको हो ।

ट्रकमा राखेर चामलको बोरा भित्र लुकाएर लैजाँदै गरेको प्रतिबन्धित लागु औषध अफिमसहित ट्रक चालक पक्राउ परेका हुन । साउन ५ गते राति ९ बजेतिर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१४ छेपारीस्थित भेरी करीडोर सडक खण्डबाट उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गिरीले नै चालएको र गोतामकोटदेखि बाँकेको नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ क १७८० नम्बरको ट्रक आशंका लागेर चेकजाँच गर्ने क्रममा ५ केजी ५४५ ग्राम अफिम सहित पक्राउ गरेको रुकुम पश्चिमका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताउनुभयो ।

ट्रकको सहचालक बस्ने सिटको मुनी चामलको बोरा भित्र तीन वटा प्लाष्टिकमा लुकाइ छिपाई लैजान लागेको लागुऔषध अफिम फेला परेको थियो । जिल्ला अदालतले सोमबार गिरीलाई दश दिन हिरासतमा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको प्रहरी प्रबक्ता शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस