रोल्पा, ७ साउन । रोल्पामा युवा व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । रोल्पा नगरपालिका वडा नम्बर ४ खाद्यटोल लिवाङमा ग्यारेज संचालन गरेका कपिलवस्तु बाणगंगा नगरपालिका–२ का शनि भनेर चिनिने २९ वर्षिय सुनिल पुन मगरको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक केशवराज बराकोटीका अनुसार रोल्पा नगरपालिका वडा नम्बर ९ का २१ वर्षिय मदन रोका मगर, २१ वर्षकै रबिन बुढामगर, वडा नम्बर ४ लिबाङका १९ वर्षिय दर्पण वली, रोल्पा नगरपालिका–९ गर्पाका १९ वर्षिय कमल बुढामगरलाई पक्राउ गरिएको छ ।
यस्तै घटनामा संलग्न रहेको आरोपमा रोल्पा नगरपालिका–९ गर्पाका १८ वर्षिय अढिराज रोका मगर, थवाङ गाउँपालिका–३ घर भई रोल्पा नगरपालिका–४ मा बस्ने १८ वर्षिय निशान पुनमगर, रोल्पा नगरपालिका–४ का १८ वर्षिय शुसिल रोकामगर र रोल्पा नगरपालिका वडा नम्बर ३ घर भई हाल वडा नम्बर ४ लिवाङमा बस्दै आएका २१ वर्षिय शिखर थापालाई पक्राउ गरिएको प्रवक्ता बराकोटीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शनिबार राती ९ बजेको समयमा सुनिलसहित सोही ग्यारेजमा काम गर्ने थवाङका १६ वर्षीय अनिल पुनमगर र दाङको राप्ती गाउँपालिका–१ पाखापानी घर भई अहिले रोल्पा नगरपालिका–४ मा नेपाल अटो वर्कशप संचालन गर्दै आएका ३३ वर्षीय कृष्ण बहादुर अधिकारीमाथि चक्कु प्रहार भएको हो । घाइते ३ जना मध्ये सुनिलको उपचारकै क्रममा मृत्यु भएको र अन्य दुईजनाको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।


