२०८१ फाल्गुन ३ गते शनिवार

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने, तर मत नपाउने निश्चित


दाङ, ६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार (आज) विश्वासको मत लिनुहुने भएको छ । दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उहाँले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो ।

सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लाग्नुभएको हो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । लुम्बिनीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

त्यस्तै माओवादी केन्द्रका १० सांसद छन् । त्यस्तै साना दल राप्रपा र नागरिक उन्मुक्तिका चार-चारजना, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन-तीनजना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा दुई-दुईजना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)र राष्ट्रिय जनमोर्चाका एक-एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन् ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस