
सल्यान, ३ साउन । अधिकांश पुरुष रोजगारीका लागि गाउँ छोडेर परदेश तिर लागेपछि, घर धान्नेदेखि गाउँको विकास निर्माणसम्ममा महिलाहरुको भुमिका बढेको छ ।
सल्यानको ग्रामिण क्षेत्रका महिला, प्रधानमन्त्री रोजगार कार्यक्रम, मूख्यमन्त्री रोजगार कार्यक्रमदेखि अन्य विकास निर्माणका कार्यक्रममा सक्रिय सहभागी छन् ।
जसका कारण उनीहरुको आर्थिक अवस्था पनि सुध्रिएको छ । बेरोजगारी युवालाई रोजगारी दिने उद्देश्यले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम लगायत विभिन्न रोजगारीका कार्यक्रम सञ्चालन गरेको छ ।
मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना गरी आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले सुरु गरिएका कार्यक्रममा अधिकांश युवा नै संलग्न हुन्छन् ।
पछिल्लो समय विकास निर्माणका काममा महिला जनशक्तिको सहभागिता बढिरहेको दार्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम ओलीले बताउनुभयो । यसवर्ष सल्यानमा ४३ हजार ६ सय ६५ जना बेराजगारी सुचिमा सुचिकृत भएकोमा २८ हजार ५ सय ६७ जना महिला रहेका छन् भने १५ हजार ९८ पुरुष रहेका छन । ति मध्य १४ सय ३० महिला र ८ सय १३ पुरुषले मात्र काम पाएका तथ्याङ्क छ ।