सल्यान, १७ असार । सल्यानमा शिक्षकको कुटाईबाट एक विद्यार्थी घाइते भएका छन् । त्रिबेणी गाउँपालिका वडा नम्बर ६ लुहाममा रहेको सल्यान पब्लिक स्कुलका शिक्षक चन्द्र बहादुर डाँगीको कुटपिटबाट कक्षा ६ मा अध्ययरत १२ वर्षिय अरुण बिक घाईते भएको परिवारले जनाएको छ ।
आइतबार दिउँसो कक्षाकोठामा पठनपाठन भैरहेको बेला शिक्षक डाँगीले फलामको स्केलले विद्यार्थीको टाउँकोमा हानेर घाइते बनाएको अभिभावकको भनाई छ ।
शिक्षकको कुटाईबाट घाइते भएका अरुणलाई लुहाममै प्राथमिक उपचार पश्चात जिल्ला अस्पताल सल्यानमा थप उपचार गरिएको आमा तुलसी बिकले जानकारी दिनुभयो ।
विद्यालयमा पढ्न गएको छोरालाई रक्ताम्मे हुने गरेर कुट्ने शिक्षकलाई कारवाही हुनुपर्ने उहाँको भनाइ छ । ‘विद्यार्थीको गल्ति भए अरु सजाय दिन सकिन्थ्यो, नभए अभिभावकलाई जानकारी दिनुपर्छ, तर पढ्न पठाएको छोरालाई रक्ताम्मे हुने गरेर कुट्नु राम्रो भएन’ उहाँले भन्नुभयो ।
उहाँले विद्यार्थी कुट्ने शिक्षकलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय लुहाममा निवेदन दिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, डिएसपी नवीन कार्कीले यस घटनाका सम्बन्धमा प्रहरीमा पिडित पक्षले ठाडो निवदेन दिइसकेको जानकारी दिनुभयो ।
सल्यान पब्लिक स्कुलका फाउण्डर नेव बहादुर खड्काले कक्षाकोठामा हल्ला भैरहेको बेला कक्षा शिक्षकले यसो नगर भन्दा फलामको स्केलले विद्यार्थीको टाउकोमा लागेको बताउनुभयो ।


