२०८१ फाल्गुन ७ गते बुधवार

घोराही सिमेन्ट उद्योगले श्रमिकलाई पारिश्रमिकमा ठगेको भन्दै स्थानीय आन्दोलित



दाङ, १६ असार । घोराही सिमेन्ट उद्योगमा कार्यरत स्थानीय श्रमिकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

स्थानीयले शनिबार सिमेन्ट उद्योगको गेटमै पुगेर न्यूनतम पारिश्रमिक पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । सिमेन्ट उद्योगले न्यूनतम पारिश्रमिकसँगै मेनपावर सप्लायर्सहरुलाई थप १० प्रतिशत कमिसनसमेत दिदा पनि सप्लायर्सहरुले स्थानीय श्रमिकहरुलाई न्यूनतम पारिश्रमिक नदिएर दश वर्षदेखि ठगी गरेको उनीहरुको आरोप छ ।

घोराही सिमेन्टले केही जिल्ला बाहिर, धेरै भारतबाट र केही स्थानीयलाई पनि रोजगारी दिएको छ तर बाहिरबाट ल्याइएका श्रमिकलाई सिधै तलब दिएर राखेको र स्थानीयलाई विभिन्न चार वटा सप्लायर्सको माध्यमबाट रोजगारीमा लगाइएको छ । सप्लायर्स कम्पनीले सिमेन्ट उद्योगबाट सरकारी तलव लिएर स्थानीय श्रमिकलाई काटेर दिने गरेको संघर्ष समितिका संयोजक खेमराज भण्डारीले जानकारी दिनुभयो ।

सप्लायर्सहरुले एकजना श्रमिकको तलव सिमेन्ट उद्योगबाट दैनिक ६ सय ६८ को दरले लिएर श्रमिकलाई ५ सय रुपैयाँ दिने गरेको पाइएको छ । श्रमिक उपलव्ध गराएवापत सप्लायर्सले उद्योगसँग १० प्रतिशत सेवा शुल्क पनि लिइरहेको छ । वर्षौदेखि सप्लायर्सले श्रमिक ठगेको भन्दै स्थानीयवासीहरुले आन्दोलन थालेका हुन । शुरुमा ज्ञापन पत्र दिएर पछि श्रम र गृह मन्त्रालयमा उजुरीसमेत दिएका उनीहरुले सुनुवाई नभएको भन्दै प्रदर्शनमा उत्रिएको जनाएका छन् ।

घोराही सिमेन्टलाई स्थानीय श्रमिक उपलव्ध गराउने काम यादव अधिकारीले सञ्चालन गरेको अज ट्रान्सपोर्ट प्रालि, श्रीप्रसाद पण्डितले सञ्चालन गरेको ड्यूरेवल कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सुरेश सुवेदी सञ्चालक रहेको एसजी एसएस मल्टिग्रुप कम्पनी र खिम डिसी सञ्चालक रहेको काष्ट कम्पनी एण्ड सप्लायर्स प्रालिले गरिरहेका छन् ।

यीमध्ये अहिले एसजी र ड्यूरेवलले श्रमिक सप्लायर्सको काम गरिरहेका छन् । संघर्ष समितिले दश वर्षदेखि श्रमिक ठग्ने काम गरिरहेको भन्दै झण्डै २५ देखि ३० करोडको ठगी गरिएको दावी गरेको छ । उनीहरुलाई ठगिएको रकम र आगामी दिनमा सरकारले तोकेकै न्यूनतम पारिश्रमिक उपलव्ध गराउन माग गरिएको छ । घोराही सिमेन्ट कारखानामा अहिले वाचम्यान, हेल्परलगायतको पदमा करिब ३ सय श्रमिक कार्यरत रहेको र उनीहरु ठगीमा परेको संघर्ष समितिले जनाएको छ । युगबोध दैनिकमा खबर छ ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस