२०८१ मङ्सिर २३ गते आइतवार

कपुरकोट गाउँपालिकाको ३८ करोड बढीको बजेट

सल्यान, १० असार । सल्यानको कपुरकोट गाउँपालिकाले ३८ करोड बढीको बजेट ल्याएको छ । सोमबार गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले आगामी आर्थिक वर्ष २०८१/२०८२ को लागि ३८ करोड ३२ लाख ८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।

चालु आर्थिक वर्षमा ४० करोड ३६ लाख ३० हजार बजेट ल्याएको गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २ करोड ४ लाख २२ हजार कम बजेट ल्याएको हो ।

गाउँपालिकाले कुल बिनियोजन मध्ये चालुतर्फ २५ करोड ३७ लाख ८९ हजार २ सय अर्थात ६६.२२ प्रतिशत र पुँजीगततर्फ १२ करोड ९४ लाख १८ हजार ८ सय रुपैयाँ अर्थात ३३.७८ प्रतिशत बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको उपाध्यक्ष भण्डारीले बताउनुभयो ।

पालिकाले संघीय समपुरक अनुदानमा साझेदारी सहित टुनिबोट छाँयानाथ सडक वडा नं ६ लाई ३ करोड र एकीकृत कपुरकोट खानेपानी योजना वडा नं. ३ र ४ लाई १ करोड विनियोजन गरेको छ ।

यस्तै पालिकाले शिक्षा युवा तथा खेलकुदतर्फ १२ करोड १९ लाख २८ हजार, कृषी प्रसार सेवा तर्फ ४५ लाख, पशुपंक्षी विकासतर्फ २ लाख, लक्षित वर्गतर्फ १५ लाख, उपाध्यक्षसंग आमा दिदीबहिनी कार्यक्रम १८ लाख, सामाजिक विकासतर्फ ८ लाख बिनियोजन गरेको छ ।

गाउँपालिकाको १५ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथामिकता दिएको बताउनुभयो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको अध्याँरो मुुक्त पालिका, एक घर एक धारा, खरको छाना मुक्त घर,सुरक्षित नागरिक आवास कार्यक्रम,जागरण अभियान लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस