२०८१ फाल्गुन ३ गते शनिवार

अपरिचित व्यक्तिले ‘चाइनिज लोकल जात’ को भनेर गिरिराज चल्ला बेचेपछि किसानको बिचल्ली

दाङ, १० जेठ । सुर्खेत घर बताएका अपरिचित व्यक्तिले दाङका किसानलाई ठगी गरेका छन् । ति व्यक्तिले ‘जनता बहुउद्देश्यीय एग्रो फरेष्टी प्रालि वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेत’ को प्रतिनिधि भनेर तुलसीपुर उपमहानगरपालिका-४ का किसानलाई ठगी गरेको खुलेको छ । निर्दोष सिंह नाम बताएका ति व्यक्तिले गत वर्षको माघमा ‘चाइनिज लोकल जात’ को भनेर गिरिराज चल्ला बेचेका थिए ।

तुलसीपुर-४ घोरानेटीकी ५० वर्षीया सीता केसीले त्यो समूहले आफूहरूले सुपथ मूल्यमा चल्ला पाल्न दिने र कुखुरा बेच्नका लागि तयार भएपछि प्रति केजी सातदेखि नौ सय रुपैयाँमा आफै आएर किनेर लैजाने पनि आश्वासन दिएको बताउनुभयो । यस्तै केसीलाई एउटा बोयर जातको बोका र एउटा बाख्रो निःशुल्क रूपमा अनुदानमा उपलब्ध गराउने पनि भनेको थियो ।

अपरिचत अनुहारसँग आएकामध्ये एक जना गाउँकै चिनजानकै युवतीले आफूलाई ‘जनता बहुउद्देश्य एग्रो फरेष्टी प्रालि वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेतको आधिकारिक प्रतिनिधि’ रहेको भन्दै ढुक्क हुन केसीले विश्वस्त हुन आग्रह गरेपछि गतवर्ष माघमा ७० वटा चल्ला प्रति वटा तीन सयका दरले किन्नुभएको थियो ।

तर पालेका चल्ला हुर्केपछि आफै प्रतिकेजी सात सयदेखि नौ सयमा खरिद गर्ने आश्वासन दिने व्यक्ति सुर्खेतको वीरेन्द्रनगर-१० ठेगाना उल्लेख निर्दोष सिंह भन्ने थिए । जसले जनता बहुउद्देश्य एग्रो फरेष्टी प्रालि वीरेन्द्रनगर नगरपालिका – १० सुर्खेतको आधिकारिक प्रतिनिधि भनेर आएका थिए । तर, आज निर्दोष सिंह सम्पर्कविहीन भएपछि आफू ठगिएको कुरा केसीले पत्तो पाउनुभएको छ ।

त्यस्तै तुलसीपुर ४ खाद्रेका रुद्र प्रसाद खनालले पनि सोही कम्पनीका ब्यक्तीहरुले ल्याएको स्किममा प्रभावित हुनुभयो र ५० वटा कुखुरा तीन सयका दरले खरिद गर्नुभयो ।

कम्पनी आफैले खरिद गरिदिने उहाँको आशा थियो । तर, उनीहरु सम्पर्क विहीन भएपछि लगानी डुब्ने चिन्तामा उहाँ हुनुहुन्छ । उहाँले अहिलेसम्म ५० हजार भन्दा बढि लगानी गरिसक्नुभएको छ ।

बोयर बोका अनुदानको प्रलोभन देखाएर ५५ रुपैया पाइने कुखुराको चल्ला एउटालाई तीन सयमा बिक्री गरेर ठगी गरेको तुलसीपुर-४ का वडाध्यक्ष तुलसीराम थापाले बताउनुभयो । सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने समूहलाई के गर्ने भन्ने बारेमा किसानसँग छलफल भइरहेको वडाध्यक्ष थापाले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका- १३ का वडाध्यक्ष मोहन पौडेलले भने एक महिना पहिला मात्रै यही समूहलाई आफूले आफ्नो वडाबाट लखेटेको बताउनुभयो । यस्तै, अनेक प्रलोभन देखाउँदै स्थानीय केही किसानबाट अग्रिम रूपमा भुक्तानी लिएको १५ हजार रकमसहित त्यो समूहलाई वडाध्यक्ष पौडेलले सुराकका आधारमा वैशाख महिनामा प्रहरीलाई नियन्त्रणमा लिन लगाएका थिए। नियन्त्रणमा लिई प्रहरीमा सोधपुछपछि उक्त समूहबाट वडाध्यक्ष पौडेलले स्थानीयको १५ हजार रुपैयाँ फिर्ता गर्न लगाउनुभएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले ‘जनता बहुउद्देश्य एग्रो फरेष्टी प्रालि वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेत’ को नाममा ठगी भएको देखिए पनि त्यसको लागि पुग्ने सबुत प्रमाण भने किसानले उपलब्ध गराउन नसकेको बताउनुभयो । प्रहरी पनि लिखित रूपमा एग्रो प्रालि सञ्चालक सिंह र किसानका बीच कुनै पनि कागज वा लेनदेन नभएको हुँदा के गर्ने? भन्ने दोधारमा देखिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस