२०८१ मङ्सिर २३ गते आइतवार

आज लोकतन्त्र दिवस : नागरिकमा निराशा उस्तै

दाङ, ११ बैशाख । आज बैशाख ११ गते लोकतन्त्र दिवस, २०६२/०६३ को जनआन्दोलन सफल भएको दिन । २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज यो दिवस मनाउन थालिएको हो ।

२०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । राजनीतिक दलको माग बमोजिम ज्ञानेन्द्रले संसद् पुनःस्थापना गरेका थिए ।

पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।

नेपालमा १० वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।

यो जनआन्दोलनको जगमा तत्कालीन नेकपा माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता सम्पन्न भएको थियो । यही आन्दोलनपछि संविधानसभा चुनाव भयो र संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो ।

संविधानसभा मार्फत संविधान निमार्ण र त्यसपछि संघीय व्यवस्थामा देश गएको छ । तीन तहको सरकार बनेका छन् । गाउँगाउँमा अधिकार पुगेका छन् । तर नागरिकले भने त्यस अनुरुपको विकास हुन नसकेको भन्दै निराशा व्यक्त गरिरहेका छन् ।

देशमा भएको परिवर्तन सहीरुपमा संस्थागत हुन नसकेको र राजनीतिक दलले पुरानै चरित्र प्रदर्शन गरेको भन्दै नागरिकमा निराशा भने व्याप्त छ ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस