२०८१ जेष्ठ ८ गते मङ्गलवार

होटल व्यवसायीले भने–‘युवाजति विदेश गए, होटेलमा आएर खाने को ?’

तुलसीपुर, २४ चैत । होटल व्यवसायीले युवा जनशक्ति विदेशीदा होटलमा आउने ग्राहक पनि घटेको बताएका छन् । तुलसीपुर होटल व्यवसायी समितिले नवौँ साधारणसभा तथा २०८१ सालको को भितेपात्रो बिमोचन कार्यक्रममा होटल व्यवसायीले युवा जति विदेश गएकाले होटेलमा आउने ग्राहकको कमी आउन थालेको बताएका हुन् ।

उनीहरुले होटल व्यवसायी समिति आर्थिक संकटको मारमा परेको भन्दै व्यवसायीले गरेको लगानी सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा जोड दिएका छन् ।

‘युवाजति विदेश गए, होटेलमा आएर खाने को ?’ कार्यक्रममा सहभागी होटल व्यवसायी समितिका केन्द्रीय सदस्य नारायण भुसाल भन्नुभयो–‘युवा पलायनले होटल व्यवसाय पनि धरापमा परेको छ ।’

होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भास्कराज काफ्ले व्यवसायीको लगानी सुरक्षामा राज्यले गर्नुपर्ने बताउनुभयो । उहाँले होटल व्यवसायी विभिन्न नाममा दोहोरो करको मारमा परेको गुनासो गर्नुभयो । ‘व्यवसायी विभिन्न नाममा करको मारमा छन् ।’ उहाँले भन्नुभयो–‘तर राज्यले व्यवसायीको लगानी सुरक्षा गर्नमा चासो दिने गरेको छैन् ।’

समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षता तथा होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भास्कराज काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले आर्थिक रुपान्तरणमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा समितिका सल्लाहकार नेत्रलाल वलीले होटल व्यवसायी एकतामा जोड दिनुभयो ।

लुम्बिनी प्रदेश पर्यटन बोर्ड सदस्य जनकप्रसाद खरालले व्यवसायीले लगानी गर्ने वातावरण नभएको बताउनुभयो । उहाँले राज्यले व्यवसायीलाई सुरक्षा गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर–५ का सदस्य भिम बहादुर केसी, तुलसीपुर–८ का सदस्य तुलप्रसाद खराल, तुलसीपुर चेम्बर अफ कमर्शका कोषाध्यक्ष युवराज नेपाली, नेपाल उद्योग व्यापार संघका होताराम आचार्य, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष घनश्याम डाँगी व्यापार ७५ प्रतिशत कम भएको बताउनुभयो ।

उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव तुफान केसीले गर्नुभएको हो ।

त्यस अवसरमा २०८१ सालको भितेपात्रे बिमोचन गरिएको थियो भने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस