
तुलसीपुर,२८ पुस । पुल निर्माण गर्नका लागि संघ सरकार र प्रदेश सरकारकै बजेटको भर पर्नुपर्ने अवस्थालाई तुलसीपुर उपमहानगरपालिकाले अन्त्य गरेको छ । तुलसीपुर उपमहानगरपालीकाको बजेटमा पालिकाका विभिन्न खोलाहरुमा मोटरेबल पुलको उद्घाटन गरिएको छ भने कतै निर्माणधीन अवस्थामै रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १ र ३ जोड्ने भमके खोलाको ठाँटी गाउँ जोड्ने पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पुल निर्माण भएसँगै सल्यान जिल्लाको लुहाम पुग्ने दुरी समेत घटेको छ ।
तुलसीपुर सुर्खेत सडकखण्डको माथिल्लो सडकको भमके खोलामा संघीय सरकारले पुल निर्माण गर्न सकेको छैन यद्यपि सोही खोलाको ठाँटी गाउँ र सल्यानको लुहाम पुग्ने सडकमा पालिकाकै बजेटमा पुल निर्माण भई सञ्चालनमा आएको छ ।
पालिकाकै बजटेमा वडा नम्बर ८ को चमई सोतामा समेत पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । वडा नम्बर ८ का वडाध्यक्ष धर्मराज वलीले एक महिनाभित्रै पुल निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले पुल निर्माणसँगै नजिकै रहेको विद्यालयमा पुग्नका लागि विद्यार्थीहरुलाई सुविधा हुने बताउनुभयो । त्यस्तै वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले पुल निर्माणले स्थानीयलाई सहजता आएको बताउनुभयो ।
वडा नम्बर १९का वडा सदस्य रामबहादुर पौडेलले वडा न १९ बिजौरी,हाडिमे पकर्रे हुँदै वडा नम्बर १८ डौडारे जोड्ने सडकखण्डको हात्तीखाला चौवा खोलामा पुल निर्माणको प्रक्रिया अघि बढ्को बताउनुभयो । उहाँले केहीदिनभित्रै पुलको शिलन्यास गरिने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले दुई वडा र जिल्ला जोड्ने सडकमा बाह्रै महिना सडक सञ्चालनमा लागि पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले सडक पूर्वाधारको विकाससँगै त्यस क्षेत्रमा उत्पादन भएका वस्तुको बजारीकरण र पर्यापर्यटनमा समेत विशेष सहयोग पुग्ने बताउनुभयो ।
पुलको शुक्रबार लुम्बिनी प्रदेशका प्रथगम मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन गर्दै प्रथम मुख्यमन्त्री पोख्रेलले बाह्रै महिना सिचाई भएको त्यस क्षेत्रको खेतबारी बेमौसमी अर्गानिक तरकारी ,उत्पादन गरी बिक्री वितरण गर्न आग्रह गर्नुभयो ।
उहाँले एमाले नेतृत्वको सरकारले त्यस सडकखण्डलाई मदन भण्डारी सहायक मार्गकारुपमा निर्माणका लागि बजेट सुनिश्चित गरेतापनि गठबन्धन सरकारले बजेट कटौति गरेको बताउनुभयो । पूर्व नगरप्रमुख घनश्याम पाण्डेले पुल निर्माणसँगै त्यस क्षेत्रको विकासमा फड्को मारेको बताउनुभयो ।