२०८३ असार ७ गते आइतवार

मिचाहा प्रजातिका वनस्पतिबाट बायोचार तथा जैविक मल बनाउनेबारे तालिम

सल्यान, १५ मंसिर । सल्यानको कपुरकोट गाउँपालिकामा मिचाहा प्रजातिका वनस्पतिबाट बायोचार तथा जैविक मल उत्पादन गर्ने प्रविधिसम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजनामा, वनस्पति अनुसन्धान केन्द्र सल्यान र भूमि सेवा नेटवर्क पोखराको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, सामुदायिक वन महासंघका केन्द्रीय सदस्य घनश्याम शर्मा, कपुरकोट सब–डिभिजन वन कार्यालयकी कमला घर्ती, जिल्ला वन महासंघ सल्यानकी महासचिव अरुणा खत्री, स्थानीय वन महासंघका अध्यक्ष खड्ग केसीसहित स्थानीय सामुदायिक वनका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी थिए ।

तालिममा विविध प्रकारका मिचाहा वनस्पति हटाएर वातावरणमैत्री बायोचार र जैविक मल कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डा. मित्रलाल पाठक र भूमि सेवा नेटवर्क पोखराका जैविक कृषि विज्ञ मदन पौडेलले विस्तृत जानकारी गराउनुभएको हो ।

गाउँपालिकाले यस्तो प्रविधि ग्रामीण क्षेत्रमा कृषिको उत्पादकत्व वृद्धि, वन संरक्षण र वातावरणीय व्यवस्थापनमा सहयोगी हुने अपेक्षा राखेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस