दाङ, ५ पुस । दाङका युवाहरु आठ महिनादेखि फिलिपिन्समा अलपत्र परेका छन् । दाङका १२ जना बढी युवा फिलिपिन्समा अलपत्र परेको आफन्तीले बताएका छन् ।
तुलसीपुर १४ का जलान्धर डाँगीको छोरी लक्ष्मी डाँगी (पुजा) र उनका श्रीमान सन्जय गुरुङले अमेरिका, जापान र अस्ट्रेलिया पठाइदिने भन्दै उनीहरुबाट करिब १ करोड १७ लाख रकम लिएर युवाहरुलाई फिलिपिन्स लगेर ८ महिनादेखि अलपत्र परेको पिडित परिवाले आरोप लगाएका छन् ।
पटक पटक गरि डाँगी र गुरुङले अमेरिका पठाउँने भन्दै घोराही १६ सर्राका आशिष सुनारसंग १५ लाख, शान्तीनगर ५ ढोरेनीका मोहन रावतसंग २१ लाख, तुलसीपुर ५ का गोपाल खड्कासंग ३२ लाख लिएको पत्रकार सम्मेलन मार्फत पिडित परिवारले जानकारी गराएका हुन् ।
त्यस्तै घोराही १८ रझेनामा अर्पन केसीलाई जापान पठाउने भन्दै १५ लाख, उहाँको श्रीमति अनीशा वलीसंग १५ लाख, तुलसीपुर ९ बेलुवाका कमल वलीलाई अष्ट्रेलिया पठाउने भन्दै १८ लाख रकम लक्ष्मीको खातामा जम्मा गरिदिएको तुलसीपुर ९ बेलुवाका करिष्मा वलीले बताउनुभयो ।
तुलसीपुर ५ का खुमा वलीले आफ्नो छोरा जापानमा भएको बेला उनीहरुले अमेरिका पठाउँने भन्दै ३० लाख लगेर ८ महिनादेखि छोरा लुकेर बस्दै आएको र त्यसको खर्च घरबाट पठाउँदै आएको बताउनुभयो ।
युवकका आफन्तहरुले जसरी भएपनि अलपत्र अवस्थामा रहेका युवाहरुलाई नेपाल फर्काउनको लागि पहल गरिदिन आग्रह गरेका छन् । साहु र बैंकबाट कर्जा लिएर डाँगी र गुरुङलाई पैसा दिएको भन्दै अहिले आफन्त अलपत्रमा परेको र ८ महिनादेखि एउटा कोठाबाट बाहिर निस्कन नपाएको भन्दै उनीहरुको खाना बस्नको लागि पनि नेपालबाट पैसा पठाउँनु परेको उनीहरुले बताएका छन् ।
रकम बुझाएको लक्ष्मीलाई फिलिपिन्समा अलपत्र परेका छोरा छोरी, र श्रीमानलाई नेपाल ल्याउनको लागि पटक पटक आग्रह गदै आएपनि पिडित परिवारको कुरालाई बेवास्ता गरेको आफन्तीले बताएका छन् । पैसा लगेर विभिन्न बहाना बनाउँदै अहिले डाँगी र गुरुङ सम्पर्क बिहीन भएको कमल रावतले जानकारी दिनुभयो ।