२०८१ माघ ८ गते मङ्गलवार

नक्कली भुटानी शरणार्थी प्रकरणः उच्च अदालतले आज निर्णय सुनाउने

दाङ, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनले आज निर्णय सुनाउने भएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा हिजो सुनुवाइ सकिएको थियो । जिल्ला अदालतको थुनछेक आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तका कानुन व्यवसायीले जबाफी बहस सकेपछि हिजो सुनुवाइ पनि सकिएको थियो ।

काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म १६ जना अभियुक्तहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै असार १ गते थुनछेक आदेश जारी गरेको थियो । यस्तै, २ अभियुक्तलाई तारेख तथा धरौटीमा रिहा गर्ने जिल्लाको आदेशविरुद्ध सरकारी पक्षले पनि उच्च अदालतमा पुनरावलोकन निवेदन दिएको थियो ।

उच्च अदालतले अभियुक्त र सरकारी पक्षका निवेदन एकसाथ राखेर सुनुवाइ गर्दै आएको थियो । उच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको हकमा जिल्लाकै आदेश सदर गर्ने वा फरक आदेशसहित फैसला सुनाउन सक्नेछ ।

जिल्लाकै आदेश सदर भएमा हाल थुनामा रहेकाहरु मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामै बस्नुपर्नेछ । जिल्लाको आदेश उल्टाएको अवस्थामा भने प्रतिवादीहरु धरौटी वा तारेखमा रिहा हुन सक्नेछन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौं रकम उठाएर ठगी गरेको प्रकरण सतहमा आएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस