दाङ, १२ मंसिर ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले चालु वर्षको कार्तिक मसान्तसम्म राजश्व संकलनको ८६ दशमलव ०६ प्रतिशत लक्ष्य पुरा गरेको छ । कार्यालयले चालु वर्षको कार्तिक मसान्तसम्ममा ६७ करोड ९६ लाख १७ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ८६ दशमलव ०६ प्रतिशत अर्थात ५८ करोड ४८ लाख ७९ हजार रुपैंया राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा चार महिनाको अवधिमा ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले चालु आर्थिक वर्षमा ४ दशमलव ४ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी तथा कर अधिकृत प्रेम बहादुर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले गत आर्थिक वर्ष २०७९/८० को कार्तिक मसान्तसम्म ६८ करोड ७६ लाख ९२ हजार रुपैंया राजस्वको लक्ष्य राखेकोमा ५६ करोड ८० हजार अर्थात ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको थियो ।
कार्यालयले चालु आर्थिक वर्षमा चार महिनामा लक्ष्य अनुसार राजस्व संकलन नभए पनि गत वर्षको तुलनामा ४ दशमलव ४ प्रतिशत बढी राजस्व वृद्धि गरेको हो । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्मको चार महिनाको अवधिमा आयकरबाट २७ करोड १२ लाख ४६ हजार, बहाल करबाट ४९ लाख ७ हजार, ब्याजकरबाट १५ करोड ८१ लाख एक हजार, आन्तरिक करबाट १६ करोड ९४ लाख ३१ हजार, आन्तरिक उत्पादन कर १२ करोड ३४ लाख ८४ हजार राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ७ करोड ३० लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको थियो । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा २४ दशमलव ६७ प्रतिशत कम राजस्व संकलन गरेको थियो । गत वर्ष दुई अर्ब ३१ करोड ५१ लख ५ हजार अर्थात् ७५ दशमलव ३३ प्रतिशत राजस्व संकलन भएको कार्यलयका सूचना अधिकारी तथा कर अधिकृत सुनारले बताउनुभयो ।