दाङ, ५ मंसिर । दाङमा घर भित्र मृत फेला परेका दाजुभाईको शब पोष्टमार्टम पछि मंगलबार आफन्तले बुझेका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टमपछि आफन्तलाई बोलाएर शब जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
दुई दाजुभाईको शब निकालेर पोष्ट मार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेनाका ३४ बर्षीय पूणर्बहादुर बस्नेत र उहाँका सहोदर भाई ३० बर्षीय टेकबहादुर बस्नेत भाडामा बस्दै आएको घर भित्र सोमबार बेलुकी मृत अवस्थामा फेला परेका थिए ।
टेकबहादुरकी श्रीमति तिहार मान्न भनेर रोल्पास्थित माइतीमा जानुभएको थियो । आँफु नआउँदासम्म ढोका नखोल्नु र शब नउठाउन गरेको आग्रह बमोजिम प्रहरीले मंगलबार बिहान ढोका खोली दुई दाजु भाइका शब निकालेर अस्पताल लगेको हो ।
उनीहरु मृत अवस्थामा फेला परेको कोठा पूणर्बहादुरका कान्छा भाइ टेकबहादुरको थियो । कान्छा टेकबहादुर पनि भदौमा मात्रै बिदेशबाट घर फर्किनुभएको थियो भने उहाँका दाजु साँईला पूणर्बहादुर दशैं मलाउन भारतबाट आउनुभएको थियो ।
टेकबहादुरको परिवार र छोरा तुलसीपुरको गाइडहरमा बिगत एक बर्षदेखि कोठा भाडामा बस्दै आएका थिए । घटनाबारे पोष्टमार्टम रिपोर्टपछि विस्तृत विवरण आउने डिएसपी पोखरेलले बताउनुभयो । उहाँका अनुसार कोठामा किटनाशक बिषादीको खोल फेला परेको छ ।