
दाङ, २७ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो ।
गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविश्वास छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिन्छ ।
यसवर्ष तिथि घटबढका कारण गोरु तिहार भोलि परेको छ । कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निणर्ायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।
आज गाई पूजा गरी साउन शुक्ल पूणर्िमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।