
दाङ, १९ कार्तिक । भूकम्पको त्रासले प्रभावित नागरिकले खुला आकासमूनी रात बिताउँदै छन् । शुुक्रबार बेलुकी गएको भूकम्पले ठुलो जनधनको क्षतिभएपछि प्रभावित नागरिकहरु त्रासले खुला आकाशमुनी बस्ने गरेका छन् ।
शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका-३ का भावना पुन मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पका कारण त्रास सम्झिएर नसुतेको बताउनुभयो । उहाँको परिवारमा भूकम्पको त्रास जहाँको तहीँ छ ।
बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन् ।
पटक-पटक गइरहेका परकम्पले जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्काको बास सडकमै छ । यातायातका साधन एकातिरबाट गुड्छन् भने अर्को भागमा उहाँलगायत अन्य सर्वसाधारण सुतिरहेका छन् ।
कात्तिक महिनाको चिसोले उनीहरुलाई सताइरहेको छ । त्यही चिसोमा खलङ्गालगायत आसपास क्षेत्रका भूकम्पपीडितको बास हुँदै आएको छ । कुशे गाउँपालिकाका धनबहादुर सिंहले गाउँमा भूकम्पको त्रासले त्रिपाल टाँगेर बस्न बाध्य भएको बताउनुभयो ।
जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर सग्ला छैनन् । नलगाड नगरपालिका-१ बाट ८ सम्म, भेरी-१, ३ र ४ का अधिकांश घरमा क्षति भएको छ । त्यस्तै छेडागाड, कुशे र बारेकोटमा समेत क्षति बनाएको छ । यहाँका सर्वसाधारणका घर बस्नयोग्य नै नभएको अवस्था छ ।
मानवीय क्षतिका हिसाबले नलगाड पहिलो नम्बरमा छ । नलगाडमा मात्र ५२ जनाको भूकम्पबाट मृत्यु भएको छ । यसपछि भेरी नगरपालिका रहेको छ । भेरीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छेडागाड नगरपालिकामा एक, जुनिचाँदेमा एक जनाको मृत्यु भएको छ । गम्भीर प्रकृतिका बिरामीलाई मात्र बाहिर सुविधासम्पन्न ठाउँमा उपचारका लागि लगिएको छ भने अन्य बिरामीको पालिकास्थित स्वास्थ्य संस्थामा उपचार जारी रहेको छ ।
एक सय ५० जनाभन्दा बढीको उपचार जारी छ । अझै केहीले उपचार नपाएको समेत बताएका छन् । गाउँ-गाउँमा फोन सम्पर्क हुन नसकेका कारण अझै गाउँमा घाइते हुनसक्ने अवस्था छ ।
भौतिकरूपमा कति क्षति भयो भन्ने कुनै यकिन तथ्याङ्क आउन सकेको छैन । अधिकांश मृतकको सनाखत अझै हुनसकेको छैन् । अहिलेसम्म पालिकाको नाम र सङ्ख्याबाहेक अन्य कुनै विवरण आउन सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कणर्ाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले शनिबार नै भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी जानकारी लिनुभएको छ ।
राहत दिने र सहयोग गर्नेले एकद्वार प्रणालीबाट गर्न प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । प्रजिअको सरकारी आवास र जिल्ला प्रशासन कार्यालयसमेत बस्न नमिल्ने अवस्थामा पुगेको छ ।