२०८१ असोज ४ गते शुक्रवार

पश्चिम नेपालमा ६ म्याग्निच्युडको भूकम्प , ठाउँ ठाउँमा घरमा क्षति

दाङसहित पश्चिम नेपालमा केन्द्रविन्दु रहेर शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित नायकवाडा केन्द्रविन्दु रहेर ६ म्याग्निच्यूड हाराहारीको भुइँचालो गएको हाे ।

भुकम्पबाट ठाउँ ठाउँका घरमा क्षति भएकाे छ । भुकम्प राेल्पा,रूकुम पश्चिम, दाङ, जाजरकोट, दैलेखमा पनि घरहरू चर्किएका छन् ।

रूकुम पश्चिमकाे आठविसकाेट गरपालिकाको राडी बजारमा भुकम्पले क्षति गरेको एक घर ।

भूकम्पले जाजरकोटको खलंगामा केही घरहरू भत्किएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीले जानकारी दिनुभयाे ।

यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यहाँ अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। पश्चिम नेपालमा लामाे समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।

नेपालको भूसतहमुनि इन्डियन र युरेसियन प्लेटको घर्षण भइरहेको छ। हामीकहाँ आउने भुइँचालोको कारण त्यही घर्षण हो। भूगर्भविदहरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस