दाङ, १६ कार्तिक ।सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निणर्य बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताउनुभयो । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निणर्य बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो ।
अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको थियो । आदेश लगत्तै खोजी थालेको प्रहरीले रिगललाई पक्राउ गरेको हो । रिगल संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर ४ भदौमा छुटेका थिए ।
त्यसबेला दाङको घोराहीस्थित जिल्ला कारागारमा गाडीहरुको लाँवालस्कर लागेको थियो । कांग्रेसका कार्यकर्ताहरुले उनको पक्षमा नारा लगाउँदै स्कर्टिङमा उनलाई घर लगेका थिए । तर, सरकारको निणर्यविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बस्नुभएको थियो ।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगलको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल थियो ।