२०८१ चैत्र ६ गते बुधवार

रिगललाई फेरि जेल पठाउन अदालतको आदेश

दाङ, १६ कात्तिक । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निणर्य बदर हुने आदेश दिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निणर्य बदर गर्ने आदेश गरेको हो ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निणर्य खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।

रिटमाथि सुनुवाइ गर्दै अदालतले बिहीबार कैद सजाय मिनाहाको निणर्य बदर हुने आदेश सुनाएको हो । सरकारको निणर्यविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बस्नुभएको थियो । दशैंका बेला स्थगित अनशन उहाँले फेरि सुरु गर्नुभएको थियो भने १३ कात्तिकमा अनशन स्थलमै उहाँ बेहोस समेत हुनुभएको थियो ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । त्यसमा अदालतबाट दोषी ठहर भएर उनले जन्मकैदको सजाय पाएका थिए । सरकारले कैद माफी दिएपछि उनी जिल्ला कारागार, दाङबाट छुटेका थिए । रिगलको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस