दाङ, २४ असोज । कर्मचारीको आन्दोलनका कारण स्थानीय तह मातहतका कार्यालयमा कामकाज आज पनि ठप्प छ । नियमित काम काज ठप्प पारेपछि सेवाग्राही मारमा परेका छन् ।
पालिकामा नियमित कामका लागि पुग्ने सेवाग्राही कर्मचारीको आन्दोलनका कारण काम नबनाएरै फर्किन बाध्य भएका छन् । १५ असोजदेखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाज समेत रोक्दै आएका छन् ।
सङ्घीय निजामती विधेयकका कतिपय बुँदामा असहमति जनाउँदै स्थानीय तहमा कार्यरत कर्मचारी गएको १२ दिनदेखि आन्दोलनमा छन् । आफूहरूलाई विभेद भएको भन्दै देशैभरका स्थानीय तहमा कार्यरत कर्मचारीले लगातार सरकारविरूद्ध खबरदारी गरिरहेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ मा कार्यरत कृष्ण कँडेलले सरकारले ल्याउन लागेको सङ्घीय निजामती सेवा विधेकयकको बिरोधमा कार्यालयको कामकाज ठप्प रहेको बताउनुभयो ।
आन्दोलनरत कर्मचारीले २० बुँदे माग सार्वजनिक गरेका छन् । विधेयकको मस्यौदा बनाउने बेलामै सरोकारवाला र विज्ञसँग छलफल गर्नुपर्नेमा सरकारले छलफलबिना नै विधेयक प्रधानमन्त्री कार्यालयमा पुर्याएको सङ्घर्ष समितिका सहसंयोजक रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।