२०८१ मङ्सिर २३ गते आइतवार

बलात्कारका घटनामा आधाजसो पीडितले बयान फेर्दा पीडक सजायबाट मुक्त

दाङ, १६ असोज । बलात्कारका मुद्दामा पीडितले बयान फेर्दा पीडक पक्षले उन्मुक्ति पाउन थालेका छन् ।

कानुनअनुसार १० वर्षभन्दा मुनिको बालिका बलात्कारमा संलग्नलाई १० देखि १५ वर्षसम्म कैद हुन्छ भने १४ वर्षमुनिको बालिका भए ८ देखि १२ वर्षसम्म कैद सजाय हुन्छ ।

१४ वर्षमाथि १६ वर्ष मुनिको बालिका भए ६ देखि १० वर्षसम्म पीडकलाई कैद हुन्छ । १६ वर्ष वा सोभन्दा माथिको महिला भए ५ देखि ८ वर्षसम्म कैद हुन्छ ।

बलात्कारका घटना रोकिएका छैनन् तर आधाजसो मुद्दामा पीडितले बयान फेर्ने गरेका छन् । बलात्कारसम्बन्धी मुद्दामा पीडितले बयान नफेरेको अवस्थामा मात्रै दोषी वा पीडकले सजाय पाउने भए पनि दबाब, प्रलोभन देखाएर पीडितको बयान फेर्न पीडक पक्षले कोसिसमा गर्छन् ।

बलात्कारपीडित महिला प्राय एक्लो हुने र चारैतिरबाट मिल्नकै लागि दबाब आउने भएकाले बयान फेरिने गरेको कानुन व्यवसायी बताउँछन् ।

आर्थिक अवस्था कमजोर भएकालाई प्रलोभनमा पार्नेक्रम बढेको अधिवक्ता गोमा महराले बताउनुभयो । दाङ जिल्लामा बितेको ११ महिनामा बलात्कारसम्बन्धी ७३ वटा घटना भएका छन् ।

समुदायस्तरमा सचेतनामूलक कार्यक्रम र मावि तहमा यौन शिक्षाका बारेमा पठनपाठन गराइए बलात्कारका घटनामा कमि आउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले बताउनुभयो ।

सामूहिक बलात्कारमा थप पाँच वर्ष कैद सजाय हुने व्यवस्था कानुनमा छ भने अपाङ्ग वा अशक्त महिला, गर्भवती महिला बलात्कृत भएमा पनि थप ५ वर्ष कैद सजाय हुन्छ ।

सेवा लिन आएका कुनै महिलालाई चिकित्सक वा स्वास्थ्यकर्मीले तथा पुर्नस्थापना केन्द्रमा राखिएको महिलामाथि त्यहाँका पदाधिकारी वा कर्मचारीबाट बलात्कृत भएमा १ वर्षदेखि ३ वर्षसम्म थप कैद सजाय गर्ने प्रावधान कानुनमा छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस