दाङ, १३ असोज । दाङमा बालबालिका चोरीको घटनामा संलग्न हुने क्रम बढ्दै गएको छ । अभिभावकको संरक्षण नहुनु, लागुऔषध दुव्र्यसनीदेखि अरूको देखासिकीका कारण पछिल्लो समय बालबालिका चोरीलगायत अरू आपराधिक कार्यमा संलग्न हुने क्रम बढ्दै गएको छ ।
पसलका ढोका फुटाएर नगददेखि सामान चोरीका क्रममा ९ देखि १५ वर्षसम्मका बालबालिका प्रयोग भएको भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताउनुभयो ।
अभिभावक गुमाएका, परिवारमा उचित रेखदेख नभएका, कुलतमा फसेका, साथीभाइको गलत सङ्गतमा लागेका धेरै जसो बालबालिका चोरी लगायत अपराधमा लाग्ने गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दाङमा पछिल्लो चार वर्षमा चोरीसम्बन्धी तीन सय भन्दा बढी उजुरी दर्ता भएका छन् । जसमा अधिकांश चोरीका घटना बालबालिकासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा चोरीसम्बन्धी ४० वटा, आव २०७७/७८ मा ५१ वटा चोरीका घटना दर्ता भएका छन् । आव २०७८/७९ मा ८५ वटा र आव २०७९/८० मा १३८ वटा गरी चार आव ३१४ वटा चोरीसँग सम्बन्धित घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
प्रहरी नायब उपरीक्षक मल्लका अनुसार बालबालिका नगदसहित ल्यापटप, घडी, मोबाइल, सुनलगायतका वस्तु चोरी गर्ने गरेको पाइएको छ । पक्राउ परेका बालबालिकाको बयानका क्रममा धेरै जसो गरिबीका कारण चोरीमा संलग्न हुने गरेको मल्लले बताउनुभयो । केही ठाउँमा भने ठुला उमेर समुहका चोरले बालकलाई प्रयोग गरेर चोर्न लगाउने गरेको पनि पाइएको छ ।


