दाङ, २० भदौ ।
तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान प्रमुख घनश्याम पाण्डेले धार्मिक विभेदकै कारण समाज बिखण्डको दिशातर्फ उन्मूख रहेको बताउनुभएको छ ।
उहाँले सबै धर्मको एउटै मर्म मानविय एकता र सम्मान भएको भन्दै एउटा धर्मले अर्को धर्ममा आस्था राख्ने व्यक्तिको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले सबैले सबै धर्मको सम्मान गरेमात्रै समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो ।
दाङको तुलसीपुर- ३ मा दमारगाउँ चर्चको प्रथम साधारण सभाको उद्घाटन समारोहमा निवर्तमान प्रमुख पाण्डेले धर्मलाई अतिवादमा जोडेर गलत अपवाह फैलाउने पवृत्तिका कारण समाजमा द्वन्द्व फैलिने खतरा बढेको बताउनुभयो ।
धर्म राज्यको नहुने भन्दै निवर्तमान प्रमुख पाण्डेले धार्मिक स्वतन्त्रता व्यक्तिको रहेको तर सबै धर्ममा आस्था राख्नेलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
चर्चका अध्यक्ष धनसरा बिकको अध्यक्षता तथा निर्वतमान प्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मानवअधिकारकर्मी सुशील बस्नेतले एक धर्ममा आस्था राख्ने व्यक्तिले अर्को धर्ममा आस्था राख्ने व्यक्तिको सम्मान गर्नु नै मानवअधिकारको रक्षा भएको बताउनुभयो ।
ईशाई समाजका प्रदेश उपाध्यक्ष मनोज बस्नेत, पाष्टर गाब्रेल अधिकारी, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल लगायतले धर्मको आस्थाका आधारमा हुने विभेदको अन्त्य गरी सभ्य समाजको निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
चर्चका पाष्टर टोप बहादुर महताराले वर्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । चर्च स्थापना भएदेखि विभिन्न सामाजिक काम गरिरहेको भन्दै उहाँले समाजमा विभिन्न कुलतमा जान सक्ने पुस्ताहरुलाई असल जीवनयापनमा महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।
साधारण सभामा कोषाध्यक्ष गिता महताराले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । कार्यक्रमको सहजीकरण सचिव शावित्रा बिकले गर्नुभएको हो ।