
सल्यान, १४ भदौ । सल्यानको कपुरकोट गाउँपालिकाले सामुदायिक बन समितिलाई दर्ता र नविकरणका लागि आब्हान गरेको छ । गाउँपालिकाले वडा नम्बर १ देखि ६ अर्थात सबै वडाभित्रका बन समितिलाई अनिवार्य दर्ता तथा नविकरणका लागि सुचना जारी गरेको हो ।
संघिय बन ऐन २०७६, बन नियमावली २०७९, कर्णाली प्रदेश बन ऐन २०७८ र कपुरकोट गाउँपालिकाको स्थानीय बन ऐन २०७६ अनुसार गाउँपालिकाभित्र रहेका सम्पूणर् सामुदायिक बन समिति गाउँपालिकामा दर्ता भई वार्षिकरुपमा नविकरण गर्नुपर्ने प्रावधान छ ।
यस्तै बन समितिले वार्षिक प्रतिवेदन बुझाउनुपर्ने र बन ऐन २०७६ ले तोकेको राजश्व समेत बुझाउनुपर्ने भएकाले सबै बन समिति पालिकामा दर्ता तथा नविकरण गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो ।
गाउँपालिकाले बन समिति दर्ता र नविकरणका लागि बुधबार (भदौ १३ गते) ३५ दिने सुचना प्रकाशित गरेको छ । नयाँ दर्ताका लागि उपभोक्ता समितको बैठक माइन्युटको प्रतिलिपि, निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, बन समुहको स्विकृत विधान प्रतिलिपी, डिभिजन बन कार्यालयमा दर्ता प्रमाणपत्रको प्रतिलिपी र उपभोक्ता समितिका पदाधिकारीको प्रतिलिपी आवश्यक पर्ने प्रमुख प्रशासकिय अधिकृत वलीले बताउनुभयो ।
