दाङ, १३ भदौ । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।
बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।
तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो । -अनलाइन खबरबाट
प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार