२०८० फाल्गुन २२ गते मङ्गलवार

छातीमा गोली लागेको अवस्थामा रुकुम पश्चिममा एक व्यक्ति मृत फेला

रुकुम पश्चिम, ३२ साउन । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ६ मा एक व्यक्ति मृत फेला परेका छन् ।

वडाको छिमिकाका अन्दाजी ४६, ४७ वर्षिय आसे बोहरा घर देखि ७ सय मिटर जति टाढा झोडेनी भन्ने स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराइले आज बिहान शव भेटिएको जानकारी स्थानीयबाट आएपछि गोतामकोट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बोहराको शव फेला पारेको हो ।

गलेको अवस्थामा शव फेला परेको डिएसपी भट्टराइले जानकारी दिनुभयो । बोहरा ९ दिन देखि वेपत्ता रहेको स्थानीयको भनाई छ ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा ६ जना र जिल्ला प्रहरी कार्यालयबाट २ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको डिएसपी भट्टराईले बताउनुभयो । बोहराको गोली लागेर मृत्यु भएको जस्तो देखिएको उहाँको भनाई छ ।

बोहराको छातीमा गोली लागेको देखिएको उहाँले बताउनुभयो । ‘छातीमा गोली लागेको देखिएको छ, घटनाका बारेमा थप अनुसन्धान चलिरहेको छ, अहिले नै धेरै भन्न सकिने अवस्था छैन्,’ उहाँले भन्नुभयो ।

सिकार खेल्न गएका बेला बोहरालाई आफ्नै बन्दुकबाट गोली लागेको हो वा अरु कसैले गोली हानेको हो भन्ने बारेमा अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ ।

छातीमै गोली लागेको हुनाले आफैले छातीमा गोली हान्न सम्भव नभएकोले हत्या भएको हुनसक्ने पनि स्थानीयले आशंका गरेका छन् । शवसंगै भरुवा बन्दुक पनि भेटिएको प्रहरीले जनाएको छ । एक जना स्थानीयसंग विवाद रहेको र स्थानीयको रोहबरमा छलफल भएको दिन देखि बोहरा वेपत्ता रहेको स्थानीयको भनाई छ । -कखराबाट

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस