दाङ, २५ साउन ।
दाङमा पाटीको नाममा लाखौँ रकम चन्दा माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेकपा बहुमतको नाममा चन्दा माग्ने सल्यानको त्रिवेणी गाउँपालिका ४ का ३३ वर्षिय धनराज तुफान भनिने धन बहादुर परियार र छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ दमाचौरका २९ वर्षिय चन्द्र प्रकाश विकलाई पक्राउ गरेको हो ।
उनीहरुले तुलसीपुर-६ स्थित हिमाल एकाडेमीका प्रधानाध्यापक मधुसुदन केसीलाई दश लाख, सल्यान कपुरकोटस्थित कालिका माविका शिक्षक बामदेव अधिकारीसंग पाँच लाख, दाङ तुलसीपुर-१८ स्थित बेलझुण्डी माविका शिक्षक जानका बस्नेतलाई १ लाख र तुलसीपुर-७ बुढागाउँ पर्सेनीका इन्द्र बहादुर वलीलाई १ लाख रकम चन्दा माग गरेका थिए ।
पक्राउ परेका दुवै जनाले नेकपा बहुमतको लेटरप्याड प्रयोग गरी ठुलो रकम चन्दा माग गरेका हुन् । पक्राउ परेका साथबाट मोबाईल २ थान, विभिन्न व्यक्तिको फोटो पनि बरामद गरिएको छ । यस्तै एक थान कम्प्युटर, एक थान प्रिन्टर, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको छ ।
दुवै जनाले चन्दा मागेको प्रहरीलाई जानकारी नदिन धम्कि समेत दिने गरेको खुलेको छ । उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्ने जस्ता धम्की दिएर चिठी र मोवाईल सन्देश पठाउने गरेका थिए ।
नेपाली प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौं, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देही एवं जिल्ला प्रहरी कार्यालय दाङबाटसहितको सहयोगमा उक्त घटना बाहिर आएको हो ।
पिडितको उजुरीको आधारमा दुवै जनालाई पक्राउ गरि सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जना विरुद्ध अपराधिक लाभ सम्बन्धि कसुर मुद्धामा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ बमोजिमको कसुरमा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रमुख मल्लले बताउनुभयो ।