२०८१ असोज १८ गते शुक्रवार

राप्ती लाईफ केयरले अब आफ्नै अत्याधुनिक भवनबाट सेवा दिने

दाङ, २८ असार । तुलसीपुरमा रहेको राप्ती लाईफ केयर हस्पिटलले अब आफ्नै अत्याधुनिक भवनबाट सेवा दिने भएको छ । अस्पतालले शुक्रबार (भोलि) देखि तुलसीपुर-७ मोतिपुरमा रहेको आफ्नै अत्याधुनिक भवनबाट सेवा दिने भएको हो ।

२०६३ सालमा स्थापना भई २०६४ सालबाट सेवा आरम्भ गरेको अस्पतालले अहिलेसम्म भाडाको घरबाट सेवा दिँदै आएको थियो । अस्पतालले अब आधुनिक भवन निर्माण गरेसंगै शुक्रबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको अस्पतालका अध्यक्ष हरि रिजालले जानकारी दिनुभयो ।

तस्विर : क्यान्सर जाँच गर्ने मेसिन

उहाँले निजि क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा ठुलो लगानीमा अत्याधुनिक भवनबाट धेरै सेवा दिने अस्पताल राप्ती लाईफ केयर नै संभवत : लुम्बिनी प्रदेशमै पहिलो भएको बताउनुभयो । ‘जमिनदेखि लिएर अत्याधुनिक भवनमा धेरै सेवा दिने संभवत प्रदेशमै हामी पहिलो हौँ जस्तो लाग्छ ।’ उहाँले भन्नुभयो-‘ भवन अग्ला र रंगरोगनले अरु राम्रा होलान, तर हामीले अरुभन्दा गुणस्तरिय सेवा दिनेमा ढुक्क छौँ ।’

तस्विर : अपरेसन कक्ष

अस्पतालले शुक्रबारबाट मोतिपुरको भवनमा नि : शुल्क स्वास्थ्य शिविर संचालन गरी सेवाको शुभारम्भ गर्ने उहाँले बताउनुभयो ।

भोलिदेखि साउन ७ गतेसम्म औषधि सहितको निशुल्क उपचार, साउन ८ गतेदेखि साउनको अन्तिमसम्म महिला रोग, इएनटी, गाइनो लगायतको ओपिडि सेवा निशुल्क हुने अस्पतालले जनाएको छ ।

तस्विर : जनरल उपचार कक्ष

यस्तै साउन महिनाभर थाइराईडका बिरामीले ५० प्रतिशत छुटमा उपचार गर्न पाउने भएका छन् । यस्तै २४ सैँ घण्टा इमरजेन्सीमा पनि टिकट निशुल्क गरिएको छ ।

अध्यक्ष रिजालका अनुसार अप्रेशन गरेर डिस्चार्ज भएमा तुलसीपुर उपमहानगरपालिकासहित पश्चिमका चार पालिका दंगिशरण, शान्तिनगर र बबई गाउँपालिकासम्ममा निशुल्क घरसम्म पठाउने व्यवस्था मिलाइएको छ ।

यसअघि ५५ बेडमा संचालित अस्पतालले २०७८ सालमा १०० बेड संचालनको अनुमति ल्याएसंगै बजारमा कठिनाई भएकाले मोतिपुरमा आफ्नै भवन निर्माण गरि सेवा दिन थालेको उहाँको भनाई छ ।

तस्विर : HDU

अस्पतालले आउँदो एक वर्षभित्रमा निसन्तानपनलाई सेवा दिने गरी आईभिएफ सेवा पनि संचालन गर्ने भएको छ । अहिले निसन्तानपन भएकाहरु सन्तानका लागि काठ्माण्डौ वा भारतको लखनउ जाने गरेका छन् ।

यस्तै छ महिनाभित्र डायलायसिस सेवा संचालन गर्ने अध्यक्ष रिजालले बताउनुभयो । अस्पतालले प्रसुति सेवासंगै आईसियु र एनआइसियु सेवा प्रदान गर्ने भएको छ । अहिले १० बेडको आइसीयु सेवा र ९ बेडको एनआईसीयु सेवा संचालन हुने अध्यक्ष रिजालले जानकारी दिनुभयो । यस्तै सिटी स्क्यान सेवा, मुटुरोग विषेशज्ञ सेवा, बर्थिङ सेन्टर संचालनमा आउने छन् ।

तस्विर : बालबालिको उपचार हुने ठाउँ (एनआईसीयु कक्ष)

निजि अस्पताल संचालनमा राज्यको कुनै सहयोग नभएपनि अस्पतालको सेवा शुल्क सरकारीभन्दा बढी नहुने अध्यक्ष रिजालको दावि छ । अस्पतालले अहिले प्रमाणपत्र तह नर्सिङ र प्रमाणपत्र तह सामान्य चिकित्सा जस्ता शैक्षिक कार्यक्रम पनि संचालन गरिरहेको छ ।

तस्विर : भिआइपी उपचार कक्ष

यस्तै आगामी दिनमा प्रमाणपत्र तह ल्याब टेक्नीसियन र डिप्लोमा फार्मेसी, स्नातह तह अन्तर्गत बिएससी नर्सिङ, बिपिएच, बि फार्मेसी र बिएमएलटी पनि संचालन गर्ने अस्पतालका निर्देशक जीवन भण्डारीले जानकारी दिनुभयो ।

अस्पतालले बिहिबार (आज) पत्रकार सम्मेलन गरी अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेको जनाएको हो । राप्ती लाइफ केयर हस्पिटल प्रालिका अध्यक्ष हरि रिजालको अध्यक्षतामा कार्यक्रम भएको हो । पत्रकार सम्मेलनमा अस्पताल संचालक दोणर् वलीको स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस