२०८१ माघ ६ गते आइतवार

दाङमा कृषिको बजेट आधा पनि भएन खर्च

दाङ, २५ असार । चालु आर्थिक वर्षमा दाङमा कृषिको बजेट आधा पनि खर्च नभएको देखिएको छ । कृषि ज्ञान केन्द्रको कृषि र किसानसँग सम्बन्धित बजेट आधा पनि खर्च नभएको हो ।

केन्द्रले उपलब्ध गराएको विवरण अनुसार आइतबारसम्म चार करोड ३२ लाख ६३ हजार बजेट मध्ये एक करोड ८७ लाख २० हजार मात्रै खर्च भएको छ । सबैभन्दा कम खर्च कृषि तथा पशुपंक्षीजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकास कार्यक्रमतर्फ भएको देखिएको छ ।

उक्त शीर्षकमा ९४ लाख ५६ हजारमा आठ लाख ८३ हजार रुपैयाँ मात्रै खर्च भएको छ । संघको सशर्त अनुदानको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सबैभन्दा धेरै खर्च भएको छ ।

जसमा ३७ लाख ५० हजार बजेटमा ३५ लाख सात हजार खर्च भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्षको स्मार्ट कृषि गाउँ कार्यक्रममा ३१ लाख ९० हजार रुपैयाँ बजेटमा २० लाख ९६ हजार खर्च भएको छ । कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमको दुई करोड १९ लाख २८ हजार बजेटमा एक करोड दुई लाख ७५ हजार रुपैयाँ मात्रै खर्च भएको छ ।

कृषि ज्ञान केन्द्रमार्फत कृषकले पाउने विभिन्न शीर्षकको अनुदान रकम कृषकले नपाउनुमा समय अवधि नपुग्नु, कार्यविधि स्पष्ट नहुनुलगायतका कारण बताइएको छ ।

तल्लो तहका किसानमैत्री अनुदान नहुँदा व्यवसायीलाई दिने अनुदानको विरोधसमेत हुँदै आएको छ । अनुदान पाउने विभिन्न प्रक्रिया छन् भने कार्यक्रमबारे जानकारी नै नभएर अनुदान नपाउने किसान पनि प्रशस्त छन् । कृषि ज्ञान केन्द्रले कृषकलाई दिने अनुदान किसानसम्म नपुगेको पाइएको छ ।

कार्यालयसम्म पहुँच नभएर, झन्झटिलो प्रक्रिया, भौगोलिक विकटता, अशिक्षा तथा अनुदानका बारेमा जानकारी नपाएर पनि किसानहरू अनुदान पाउनबाट वञ्चित भएका छन् ।

फर्म दर्ता नभएका किसानले नपाउने भएकोले पनि गाउमा खेती किसानी गर्नेहरु अनुदानबाट वञ्चित छन् । कार्यालयले जारी गर्ने सूचना थाहा नपाउने, पाए पनि निवेदन दिन नसक्नेसम्मका किसान भएको जिल्लाका विकट गाउँका कृषकहरू अनुदानबाट बञ्चित भइरहेका छन् भने व्यावसायिकरुपमा फर्म दर्ता गर्नेले पटकै पिच्छे विभिन्न निकायबाट अनुदान पाइरहेको देखिन्छ । नयाँ युगबोध दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस