२०८१ जेष्ठ ९ गते बुधवार

दाङका दामोदर पौडेल बलात्कार आरोपमा पक्राउ

दाङ, २२ असार । राष्ट्रिय अनुसन्धान विभागका एक जना सूचक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले जबर्जस्ती करणीको कसूरमा विभागमा कार्यरत दाङ घर भएका दामोदर पौडेललाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका एसपी सीताराम रिजालका अनुसार पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेर काठमाडौं प्रहरी अन्तर्गतको महिला सेलले थप अनुसन्धान गरिरहेको छ ।

पीडितका अनुसार सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएर पौडेल उनीसँग नजिकिएका थिए । विभिन्न डर, धाक, धम्की र प्रलोभन देखाएर नजिकिएर आफूलाई बलात्कार गरेको पीडितको जिकिर छ ।

‘सामाजिक सञ्जाल मार्फत चिनजान भएर कुराकानी हुने क्रममा उनले मलाई विवाह गर्ने भनी प्रेम जालमा पारेर मेरो दैनिक विवरण रेखदेख गर्ने र मेरो पछि लागेर विभिन्न प्रकारले प्रभावमा पारेर मेरो डेरा कोठामा २१ माघ २०७८ मा आएका थिए’, जाहेरीमा भनिएको छ, ‘त्यतिबेला मलाई झुक्याएर विवाह गर्ने भन्दै इच्छाविपरीत करणी गरेका थिए ।’

त्यसपछि पनि कुराकानी भइरहेकोमा विवाह गर्ने विषयमा आलटाल गरिरहने गरेको पीडितको भनाइ छ । कहिले परिवारसँग सल्लाह गर्छु भन्दै त कहिले आफ्नो जन्ममिति समेत दिएर लगन हेर्न लगाएको पिडितको भनाइ छ ।

‘पछि घरपरिवारले थाहा पाएर सम्पर्क गर्दा उनले फोन उठाएनन्, यस्तोमा उनले मसँग म्यासेन्जरबाट मात्र कुरा गर्ने गरेका थिए’, उनी भन्छिन्, ‘१६ भदौमा आमा बिरामी हुनुभएकाले उपचारका लागि काठमाडौं ल्याएको थिएँ, त्यतिबेला पनि उनले मेरो डेरा कोठामा आएर जबर्जस्ती करणी गरे ।’

प्रहरीले यस प्रकरणमा अनुसन्धान अघि बढाएपछि राष्ट्रिय अनुसन्धान विभागले उनलाई निलम्बन गरेको छ । प्रहरीका अनुसार पौडेल कानुन व्यवसायी समेत हुन् ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस