दाङ, २१ असार । दाङ–सल्यान सडकखण्ड अन्तगर्त चोरखोलामा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको यात्रुबहाक बसमा करेन्ट प्रवाह हुँदा कालुराम डाँगी र टोपीलाल डाँगीको मृत्यु भएको हो ।
दुवै जना बावु छोरा रहेको सल्यानका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जानकारी दिनुभयो ।
बसमा २० देखि २५ जना सवार भएको जनाइएको छ । यद्यपि यसबारे एकिन जानकारी भने आउन बाँकी रहेको छ ।
तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बस आज सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा उक्त घटना घटेको हो ।
गएराति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
घटनाकै कारण बाटोमा यातायात अवरुद्ध भएको छ । प्रहरीले बाटो खुलाउने काम गरिररहेको छ ।