दाङ, १५ असार । तुलसीपुर-१८ मा रहेको न्यू स्टार बोर्डिङ सकेन्डरी स्कुलले राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाई कार्यक्रम गरेको छ । विद्यालयले तुलसीपुर-१९ कूटेचौरको करिब १० कठठा खेतमा धान रोपाई गरेको हो ।
विद्यालयका प्रधानाध्यापक शरण जिएमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यता एवं बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काको विशिष्ठ आतिथ्यतामा धान रोपाई कार्यक्रम भएको हो ।
त्यसअवसरमा वडा अध्यक्ष योगीले धान दिवसले धानको महत्व बुझाएको बताउनुभयो । उहाँले आर्थिक समृद्धिको प्रमुख आधार कृषि नै भएको भन्दै धान उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताउनुभयो ।
यस्तै बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष खड्काले धान उत्पादन बढाउन किसानलाई सिंचाई सुविधादेखि राज्यले समयमै रासायनिक मल उपलब्ध गराउनुपर्ने बताउनुभयो । दिवसको अवसरमा विद्यालयका १०९ जना विद्यार्थीले धान रोपेका हुन् ।
यस्तै कृषि प्राविधिक सन्दीप मल्लले धान उत्पादन बढाउन ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा शिक्षक सेवक मल्ल र धरमपानी टोल विकास संस्थाका अध्यक्ष बिरबहादुर पुनले विद्यार्थीमा धानको महत्व बुझाउन सकेमात्रै कृषि पेशामा थप आर्कषण बढाउन सकिने बताउनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक विष्णुप्रसाद धितालले गर्नुभएको हो ।