
दाङ, १३ असार । दाङमा लागुऔषध दुव्र्यसनीका घटना बर्सेनि बढ्दै गएको छ । दाङमा प्रहरीले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा १ सय १३ जनालाई पक्राउ गरेको छ ।
गत वर्षको साउन महिनादेखि जेठ महिनासम्म दर्ता भएका विभिन्न प्रकृतिका ५६ वटा लागु औषधसम्बन्धी मुद्दामा १ सय १३ जना लागुऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेका हुन् ।
जसमा २ सय ३४ ग्राम ६ सय ७२ मिलीग्राम ब्राउनसुगर (खैरो हिरोइन) सहित सबैभन्दा धेरै ९४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनु भएको छ ।
डिएसपी गौतमका अनुसार १० किलो दुई सय ग्राम चरेससहित पाँच जना, १३ किलो ३ सय ७५ ग्राम गाँजासहित पाँच जना र ३ सय ८४ ट्याब्लेटसहित नौ जनालाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा लागु औषधसम्बन्धी ५९ मुद्दामा १ सय १६ जना पक्राउ परेका थिए ।
जसमा ३ सय ९१ ग्राम ४ सय १८ मिलीग्राम ब्राउनसुगर (खैरो हिरोइन) सहित ९३ जना, १७ किलो ५१ ग्राम चरेससहित चार जना, आठ ग्राम ७ सय ६० मिलीग्राम अफिमसहित चार जना, सात किलो ३८५ ग्राम गाजा सहित ६ जना र १ हजार १६ ट्याब्लेटसहित नौ जना गरेर गत आर्थिक वर्ष १ सय १६ जना लागुऔषध कारोबारी तथा प्रयोगकर्ताहरू पक्राउ परेको जिल्ला प्रहरीक कार्यालय दाङले जनाएको छ ।
प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका विभिन्न ठाउँबाट ३९ वटा मुद्दामा ७६ जना लागुऔषध प्रयोगकर्ता एवं कारोबारीलाई पक्राउ गरेको थियो ।