
तुलसीपुर, ४ असार । पवननगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकोे एउटा मुहानमा कोलिफर्म अर्थात दिसाजन्य पदार्थ फेला परेको छ । खानेपानीलाई तुलसीपुरमा जाँच गर्दा बाह्र मौजा मुहानको पानीमा कोलिफर्म फेला परेको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का दुई वटा वस्तीमा झाडापखाला र आउँका बिरामी फेला परेपछि पानी जाँच गरिएको हो ।
खानेपानीका तीन वटा मुहानको पानी जाँच गर्दा बाह्रमौजाको पानीमा कोलिफर्म भेटिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिनुभयो ।
पवननगर खानेपानी संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ र २ मा खानेपानी वितरण गरिरहेको छ । वडा नम्बर १ को दुई वटा टोलमा झाडापखाला फैलिएको हो । तर अहिले नियन्त्रणमा आइसकेको जनस्वास्थ्य निरिक्षक केसीले बताउनुभयो ।
उहाँका अनुसार करिब ३५ जना झाडापखालका बिरामीमध्ये अधिकांश निको भइसकेका छन् भने केहि सामान्य अवस्थामा उपचार गराइरहेका छन् । झाडापखाला फैलिएको खबर पाएपछि आइतबार नगरप्रमुख टिकाराम खड्कासहित स्वास्थ्यकर्मीको टोलि प्रभावितस्थलमा पुगेको थियो ।
खानेपानीको एउटा मुहानमा कोलिफर्म भेटिएको हुँदा अहिले तत्काल आम नागरिकलाई खानेपानी उमालेरमात्रै प्रयोग गर्न अनुरोध गरिएको तुलसीपुर–१ वडा अध्यक्ष हुमकान्त सापकोटाले जानकारी दिनुभयो ।