दाङ, २ साउन । तुलसीपुरमा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ । च्याउ खाएका अन्य छ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जंगली च्याउ खाएर बिरामी परेकी तुलसीपुर–३ बल्ले निवासी ३६ वर्षिय दिपा पुन मगरको मृत्यु भएको हो ।
गत असार ३१ गते जंगलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका सात जना बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरयासी उपचार गरिएको थियो । अन्य पाँच जनालाई अस्पताल ल्याइएको थियो ।
बिरामी परेकी दिपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराही लगिएको थियो । घोराहीमा पनि उपचार सम्भव नभएपछि नेपालगञ्ज लैजाँदै गर्दा आज बाटोमै मृत्यु भएको हो ।
च्याउ खाएर बिरामी परेका तुलसीपुर–३ बल्लेका ७५ वर्षिय दशरथी पुन, उहाँका ३८ वर्षिय छोरा डम्बर बहादुर पुन, ३६ वर्षिय तिलक पुन, ५ वर्षिय बिपिन पुन, १२ वर्षिय बिवेक पुन र सुमन बुढाथोकी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।





