२०८१ असोज १८ गते शुक्रवार

आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नेपालको उत्पादनलाई मुस्किल

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिन विशेष कार्यक्रमको घोषणा गरेको छ ।

चालु आर्थिक वर्षमा मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ लगायतका कार्यक्रम ल्याए पनि कार्यान्वयनमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । आगामी आर्थिक वर्षका लागि ल्याइएको आत्मनिर्भर हुने लक्ष्यसहितको कार्यक्रमबाट उद्योगी आशावादी भए पनि विश्वस्त छैनन् ।


आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा २० प्रतिशतसम्म महङ्गो भए पनि स्वदेशी वस्तु खरिद गर्न प्रबन्ध मिलाउने उल्लेख छ । यद्यपी गत वर्षदेखि नै स्वदेशी उत्पादनको प्रयोग बढाउने नीति थियो । उक्त नीतिबाट व्यवसायीले अपेक्षा गरे अनुसार फाइदा लिन सकेका नसकेको काष्ठ उद्योग व्यवसायी सागर कार्की बताउनुहुन्छ ।


देशभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादन बजारसम्म पुर्‍याउन सार्वजनिक निजी साझेदारीमा प्रदर्शनीस्थल बिक्री केन्द्र सञ्चालनमा ल्याउने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।


राष्ट्रिय योजना आयोगका पूवर् उपाध्यक्ष डा गोविन्द्र पोखरेल नीति र बजेट कार्यान्वयनमा सुधार गर्नुपर्नेमा जोड दिनुहुन्छ । उद्योग तथा लगानी प्रवर्द्धनमा प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्था एकीकृत गर्ने पनि सरकारले भनेको छ र नयाँ औद्योगिक विकास ऐन ल्याउने वाचा गरेको छ ।


नीति तथा कार्यक्रममा स्वदेशी उत्पादन बढाउने बारे मीठा शब्दावली लेखिए पनि कार्यान्वयन नभएसम उद्योगी व्यवसायी यसबारे अहिले नै प्रतिक्रिया जनाउनु हतार हुने बताउँछन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस