
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहबारे प्रहरीले तयार पारेको प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको छ ।
करिब दुई महिना लगाएर प्रहरीले प्रतिवेदन तयार पारेको हो । प्रहरीले गएको चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको बारेमा सुरु गरेको अनुसन्धानका आधारमा प्रतिवेदन तयार पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पक्राउन गरे प्रहरीले अनुसन्धान सकेको हो ।
गएको चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ गरेपछि नक्कली भुटानी शरणार्थी प्रकरणको विषय सार्वजनिक भएको थियो । यस प्रकरणमा पीडितको सङ्ख्या करिब ९ सय रहेको र सङ्गठित गिरोहले एक अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको प्रहरी स्रोतले जनाएको छ ।