
तुलसीपुर- गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरमा शिक्षकमाथि भएको कुटपिटको घटना छानविन गर्नका लागि समिति गठन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका सदस्य भीमबहादुर योगीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिको सदस्यमा वडा नम्बर ४ का वडाध्यक्ष तुलसी थापा र सदस्य सचिवमा चक्रबहादुर भण्डारी रहनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख एवम शिक्षा समितिका संयोजक टीकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले घटनाको बारेमा छानविन गरेर एक हप्ताभित्र प्रतिवेदन ल्याउन समयसीमा निर्धारण गरिएको छ ।
मर्यादा क्रमको विषयलाई लिएर विद्यालयका शिक्षक प्रमोद आचार्य र झक्कु प्रसाद केसीले विद्यालयको क्यालेन्डर च्यातेको विषयलाई लिएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकमणी पोख्रेलले सोमबार हातपात गरेको विषय छानबिन गर्नका लागि समिति गठन गरिएको हो ।