२०८१ मङ्सिर २२ गते शनिवार

कपुरकोटमा आज कृषि मन्त्रीदेखि पालिकाका प्रमुख आउँदै : तरकारीको बजारीकरणको रणनीति

सल्यान । बेमौसमी तरकारी खेतीको व्यवसायीकरणलाई थप फराकिलो बनाउनका लागि आवश्यक नीति र योजना बनाउन सल्यानको कपुरकोटमा बुधबार आज सरोकारवालाबिच वृहत अन्तरक्रिया हुने भएको छ ।

छलफलबाट बैमौसमी तरकारी खेतीको उत्पादन बढाउन र बजारीकरणका लागि आवश्यक नीति बनाउने योजना रहेको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो ।

बृहत छलफलपछि तरकारी खेतीको उत्पादन विस्तार र बजारीकरणमा सहजताका लागि कृषि एम्बुलेन्स संचालनदेखि हरेक पालिकामा संकलन केन्द्र स्थापना गर्न आवश्यक रणनीति बनाउने उहाँले बताउनुभयो ।

तरकारी खेतीलाई व्यवसायीकरण गरी आत्मनिर्भर बनाउन कपुरकोट गाउँपालिकाले सरोकारवालासंगको वृहत अन्तरक्रिया गर्न लागेको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार वलीले बताउनुभयो ।

तरकारीको न्युनतम समर्थन मूल्य निर्धारण गर्ने, किसानलाई कृषि पेशाप्रति आर्कषित गर्न बजारीकरणमा सहजता ल्याउने र कपुरकोटलाई कृषिका माध्यमबाट आर्थिकरुपमा सक्षम बनाउन तरकारी खेतीको व्यवसायीकरणलाई बृहत बनाउने उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्मा, सल्यानका दश वटै पालिका र लुम्बिनी प्रदेश रोल्पाको त्रिवेणी र रुण्टीगढीका प्रमुख, कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव, जिल्ला कृषि विकास कार्यालय सल्यानका प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख , कृषि क्षेत्र विकास कार्यक्रमका प्रमुखको सहभागीता रहने भएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस