
नेपालगञ्ज नाका भएर पछिल्लो समय चामल, चिनीलगायतको आयातमा कमी आएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि चैत मसान्तसम्म भन्दा चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत मसान्तसम्म चामल आयातमा ५१ प्रतिशतले कमी भएको छ ।
भन्सारको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म एक लाख ४० हजार २८९ टन चामल आयात भएकोमा चालु आवको सोही अवधिमा ५२ हजार ३४९ टन मात्रै आयात भएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले दिनुभएको जानकारी अनुसार गत वर्षमा सात अर्ब ९३ करोड ६० लाख रुपियाँ मूल्यको चामल आयात भएकोमा चालु आवको सोही अवधिमा तीन अर्ब ८६ करोड ९९ लाख रुपियाँ मूल्यको चामल मात्रै आयात भएको छ ॥
प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार