
तुलसीपुर, ९ बैशाख । चन्द्रलाल बिकको अब आफ्नै घर बन्ने भएको छ । तुलसीपुर-१६ मा कोठा भाडामा बस्दै आएका विकको अब आफ्नै घर तुलसीपुर-७ पर्सेनीमा बन्ने भएको छ ।
अनलाईन टिभी पत्रकार संघ नेपाल दाङ शाखा तथा लोक तथा दोहोरी गायिका टीका सानुको पहलमा चन्द्रलालको घर बन्न लागेको हो । घरको शनिबार (आज) शिलान्यास गरिएको छ । तुलसीपुर-७ का वडा अध्यक्ष रामबहादुर जिसी र लोक दोहोरी गायिका टिका सानुले घरको संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।
त्यस अवसरमा वडा अध्यक्ष जिसीले बेसाहारा बिकको घर बन्नु निकै प्रशंसनिय भएको बताउँदै आफूले पाउँदै आएको पारिश्रमिकबाट घर निर्माणका लागि आवश्यक सिमेन्ट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा लोकदोहोरी गायक मान सिंह खड्काले पनि आफ्नो व्यक्तिगत रुपमा नगद दुइ हजार सहयोग गर्नुभएको छ । उहाँले बिकको परिवारलाई सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्नुभएको छ ।
गायिका टीका सानुले सामाजिक कार्यमा अग्रसर हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले हाल घर निर्माणको लागि पनि आफु संग पर्याप्त रकम नभएको तर पनि विभिन्न ब्यक्ति तथा संघसंस्थाबाट सहयोग पाउने आशाका साथ घर निर्माणका लागि जगको थालनी गरिएको बताउनुभयो ।
अहिलेसम्म प्राप्त दुई लाख दश हजार रुपैयाबाट घर बनाउने कामको थालिनी गरेको उहाँले बताउनुभयो । शिलान्यास कार्यक्रममा नेपालमा विभिन्न क्षेत्रमा काम गर्दै आएको अस्ट्रेलियन अन्तर्रास्ट्रिय संस्था छाया नेपालले पनि आफुले सक्दो सहयोग गर्ने बचन ब्यक्त गरेको छ ।
अनलाईन टिभी पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एच.आर.मगरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण अनलाईन टिभि पत्रकार संघ नेपाल दाङ शाखाका सचिब भिम बहादुर वलीले गर्नुभएको हो ।