सल्यान, ७ चैत । सल्यानको कपुरकोट गाउँपालिकामा निःशुल्क लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षाको आज समापन गरिएको छ ।
कपुरकोट गाउँपालिका भित्रका युवाहरुलाई सरकारी सेवामा प्रबेश गराउने उद्देश्यका साथ संचालित निःशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षाको आज समापन गरिएको हो ।
करिब दुई महिना अघिदेखि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौरमा प्रत्यक्ष तथा अनलाइन मार्फत सञ्चालन भएको तयारी कक्षामा गाउँपालिका भित्रका एक सय बढी युवाहरुले तयारी कक्षामा सहभागिता जनाएका थिए ।
गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गरेपछि लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा लिने सपना पुरा भएको प्रशिक्षार्थीको भनाई रहेको छ । लोक सेवा आयोगमा प्रतिष्पर्धाका लागि गाउँपालिकाले तयारी संचालन गरेको भन्दै लगानीलाई खेर जान नदिने प्रशिक्षार्थीहरुले प्रतिबद्धता जनाएका छन् ।
तयारी कक्षामा सहभागि भएका प्रशिक्षार्थीहरुलाई सफलताको शुभकामना दिनुहुदै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले गाउँपालिकाले चालेको प्रयासलाई सफल बनाउन सबै जनालाई कडा परिश्रम गर्न अनुरोध गर्नुभयो ।
अध्यक्ष पुनले तयारी कक्षा लिएकाहरु सरकारी सेवामा प्रबेश गरेको देख्ने इच्छा भएको बताउदै लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षालाई प्राथमिकतामा राखेको जनाउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीको अध्यक्षतामा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गाउँपालिकामा लोक सेवा तथा शिक्षक सेवा कक्षा सञ्चालनका लागि यस भन्दा अगाडी अभ्यास नभएकाले पहिलो पटक अभ्यास गरिएको बताउनु भयो ।
तयारी कक्षाका मुख्य प्रशिक्षक तथा गाउँपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले सहजीकरण गरेका कार्यक्रममा नेपाल राष्ट्रिय माबिका प्रधानाध्यापक दामोदर शर्मा, कपुरकोट बहुमुखि क्याम्पसका प्रमुख रुपलाल एरीले प्रशिक्षार्थीलाई सफलताको शुभकामना दिनुभयो ।