दाङ, १९ फागुन ।
दाङ माछामा अझै पनि आत्मनिर्भर छैन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराहीका अनुसार जिल्लामा वार्षिकरुपमा अझैपनि २ हजार ७ सय ७२ मेट्रिक टन माछा अपुग रहेको छ ।
केन्द्रका प्रमुख सुदाम भट्टले दाङमा अहिले वार्षिकरुपमा ६ सय ९ मेट्रिक टन माछा उत्पादन हुने गरेको भएपनि वार्षिकरुपमा ३ हजार ३ सय ८१ मेट्रिक टन माछा आवश्यक रहने जानकारी दिनुभयो ।
जिल्लामा माछाको पर्याप्तरुपमा उत्पादन हुन नसकेपछि बजारमा भारतीय माछाको वर्चश्व रहेको छ । मागलाई धान्न अहिले भारतबाट खुलेआम माछा आउने गरेको हो । जिल्लामा पछिल्लो जनसंख्या अनुसार माछा उत्पादन हुन नसकेको उहाँले बताउनुभयो ।
दाङको पछिल्लो जनसंख्या ६ लाख ६७ हजार २ सय जना रहेको छ । प्रति व्यक्तिलाई वार्षिक रुपमा ९ केजी माछा आवश्यक पर्ने भएपनि अहिले प्रतिव्यक्ति वार्षिकरुपमा ४ दशलव १ केजी अपुग रहेको छ ।
जिल्लामा अहिले ३ सय २३ जना व्यवसायीक तथा साना किसानले व्यवसायीकरुपमा माछापालन गरिरहेका छन् भने ८८ दशलव ०९ हेक्टर जलाशयमा माछापालन हुने गरेको छ । दाङमा अहिले वैखा, पंगासियस, छडी, रोहु नैनी, कमन, ग्रास, र स्थानीय प्राकृतिक जलश्रोतमा पाइने माछा बढी बिक्रि हुने गरेको छ ।
पशु सेवा तालिम केन्द्र बाँकेका प्रमुख प्रवेश सिं कुँवरले लुम्बिनी प्रदेश माछा उत्पादनका हिसावले दोस्रोमा रहेको बताउनुभयो । उहाँले मधेश प्रदेशपछि लुम्बिनीमा सबैभन्दा बढी माछापालन हुने गरेको बताउनुभयो । माछापालन व्यवसायी थपिदै जान थालेको र प्रदेश सरकारले आवश्यक तालिम र माछाको भुराहरु उपलब्ध गराउने गरेको बताउनुभयो ।