दाङ, १८ फागुन ।
मत्स्यपालक कृषक संजाल दाङ गठन गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले बिहिबार (आज) घोराहीमा माछापालक किसानको भेला गरी संजालको गठन गरेको हो ।
संजालको अध्यक्षमा अमर बहादुर तामाङ चयन हुनुभएको छ । भेलाले तामाङको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । संजालको सचिवमा मिलन बुढाथोकी, कोषाध्यक्षमा शारदा पौडेल चयन हुनुभएको छ ।
यस्तै संजालको सदस्यमा सुदिप गौतम, पुरन चौधरी, डिलमाया अधिकारी, कृष्णप्रसाद पोखरेल, महादेव चौधरी,सोमराज शर्मा, धनिराम चौधरी र बालकृष्ण चौधरी चयन हुनुभएको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले माछापालक किसानलाई माछा पालनको वर्तमान अवस्था, बजारीकरण र चुनौतिबारे प्रशिक्षण समेत गरेको छ । केन्द्र दाङका प्रमुख सुदाम भट्टले दाङमा माछापालनको अवस्था र संभावनाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उहाँले दाङमा पछिल्लो समय माछापालन व्यवसायमा किसानहरु आर्कषित हुन थालेको बताउनुभयो । प्रमुख भट्टले जिल्लामा अहिले वार्षिक ६०९ मेट्रिक टन माछा उत्पादन हुने गरेको जानकारी दिनुभयो । जिल्लामा ३ हजार तीन सय ८१ मेट्रिक टन माछा आवश्यकता भएपनि उत्पादन थोरै हुने गरेको उहाँले बताउनुभयो ।
यस्तै पशु सेवा तालिम केन्द्र बाँकेका प्रमुख प्रवेश सिं कुँवरले लुम्बिनी प्रदेश माछा उत्पादनका हिसावले दोस्रोमा रहेको बताउनुभयो । उहाँले मधेश प्रदेशपछि लुम्बिनीमा सबैभन्दा बढी माछापालन हुने गरेको बताउनुभयो ।
केन्द्रका प्रमुख भट्टको अध्यक्षता तथा पशु सेवा तालिम केन्द्र बाँकेका प्रमुख कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका मत्स्य शाखा प्रमुख प्रेम चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण केन्द्र दाङका योजना प्रमुख कृष्ण न्यौपानेले गर्नुभएको हो ।