
सल्यान, १८ फागुन । सल्यान कपुरकोटको तरकारी देशका मुख्य सहरमार्फत नागरिकको भान्सामा पुग्ने गरेको छ । तर किसानले तरकारीको मूल्य सोचेजस्तो पाउन सकेका छैनन् ।
यही समस्या समाधानका लागि कपुरकोट गाउँपालिकाले चालु आर्थिक वर्षमा तरकारीको न्यून्तम समर्थन मूल्य तोकेर कृषि पेशाप्रति किसानलाई आर्कषित गर्ने योजना अघि सारेको छ ।
कपुरकोट बेमौसमी तरकारी उत्पादनका हिसावले प्रख्यात ठाउँ हो । यहाँबाट वर्षायाममा ४० देखि ५० करोडको तरकारी बाहिरिने गरेको छ । तर हिउँदमा तरकारीले भाउ नै पाउँदैन् ।
यसैका कारण किसान पलायन हुने अवस्था नआवस् भन्न गाउँपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी गरेको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले तरकारीको न्यूनतम मूल्य लागु गर्न ५ लाख बजेट बिनियोजन गरेको थियो ।
तर गाउँपालिकाको किसान प्रोत्साहित कार्यक्रमलाई सङ्घीय सरकारले पनि समर्थन गरेर थप एक करोड बजेट पठाएको प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले जानकारी दिनुभयो ।
किसानको लागत अनुसार थप केही फाइदा हुनेगरी गाउँपालिकाले तरकारीको मूल्य निर्धारण गर्ने छ । यसक्रममा किसानले व्ययवसायीबाट पाउन नसकेको बाँकी रकम पाउने व्यवस्था गर्न थालिएकोमा स्थानीयबासी खुसी छन् ।
गाउँपालिकाभित्र टमाटर, काउली, बन्दागोपी, भेडेखुर्सानी, सिमी, खुर्सानी, कागती, करेला लगायतका तरकारी उत्पादन हुने गरेको छ । कपुरकोट गाउँपालिकाका करिब ८५ प्रतिशत नागरिक कृषिबाटै जीविकोपार्जन गरिरहेका छन् ।
गाउँपालिकाभर ७९ वटा कृषि समुह र १ सय २५ नीजि कृषि फर्मले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन् भने ७ वटा सहकारीले कृषि क्षेत्रमा काम गरिरहेका छन् ।